काठमाडौं । मोबिलिटी प्लेटफर्म इन्ड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान शुरू गरेको छ । यो अभियान स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित रहेको बताइएको छ ।
यो पहलअन्तर्गत मे महीनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गरिने बताइएको छ । यस पहलमार्फत बास्केटबल, ब्याडमिन्टन र फुटसलजस्ता खेलका लागि आवश्यक किटहरू प्रदान गरिनेछ, जसले विद्यार्थीको शारीरिक विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
इन्ड्राइभको यो अभियानले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउन र बालबालिकाको समग्र विकासमा योगदान पुर्याउने उद्देश्य राखेको बताइएको छ, जसले समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । ‘राइड टु सपोर्ट‘ अभियान केवल यात्राको सेवा मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ संकल्प भएको कम्पनीको भनाइ छ ।