काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन लिएको कर्णाली डेभलपमेन्ट बैंकले नियामक निकायलाई झुक्याउन निक्षेप र कर्जा नक्कली देखाएको पाइएको छ । बैंकका सञ्चालक र उच्च पदस्थ कर्मचारीको मिलेमतोमा किर्ते काम गरेको भेटिएपछि छानबिनका लागि राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी दिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले राष्ट्र बैंकको उजुरीसँगै अनुसन्धान शुरू गरिएको बताए । राष्ट्र बैंकबाट उक्त बैंकले निक्षेप हिनामिना गरेको र कर्जा दुरुपयोग गरेको जाहेरी आएको र यसबारे छानबिन भइरहेको उनले जानकारी दिए ।
बैंकमा तरलता र खराब कर्जा अनुपात राम्रो देखाउन नक्कली निक्षेप देखाउनुका साथै कर्जाको फाइलसमेत बनाएको हो । ‘वाणिज्य बैंकमा मुद्दती निक्षेप रहेको भन्दै देखाएको प्रमाणपत्रसमेत नक्कली बनाएको भेटेका छौं,’ बैंकमा कार्यरत राष्ट्र बैंक स्रोतले भन्यो, ‘वित्तीय सूचकहरू ठिकठाक रहेको देखाउन बदमासी गरेको देखिएको छ ।’
बैंकले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासिकसम्मको वित्तीय विवरणमा पूँजीकोष अनुपात १० दशमलव शून्य ५ प्रतिशत र निष्क्रिय कर्जा ७ दशमलव २४ प्रतिशत रहेको उल्लेख गरेको थियो । तर, राष्ट्र बैंकको अनुगमनमा खराब कर्जा ४० दशमलव ८५ प्रतिशत र पूँजीकोष अनुपात ४ प्रतिशतभन्दा कम रहेको भेटिएको थियो ।
राष्ट्र बैंकको छानबिनमा बैंकको कुल निक्षेपमध्ये १ अर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । यस्तै बैंकको कुल कर्जाको आधा सञ्चालकले आफ्ना कम्पनी वा नातेदारलाई दिएर पनि दुरुपयोग गरेको भेटिएको छ ।
हाल राष्ट्र बैंकका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशकद्वय विष्णुकुमार विश्वकर्मा र जुगलकिशोर कुशवाहा सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन समितिले कर्णाली विकास बैंक सञ्चालन गरिरहेको छ । व्यवस्थापन लिएको १ महीनामा सर्वसाधारणको २० करोड रुपैयाँ निक्षेप फिर्ता गरेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
एक वर्षदेखि नै कर्णालीलाई निगरानीमा राख्दै आएको राष्ट्र बैंकले गत आव २०८०/८१ को पहिलो त्रैमासमा नै विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा औंल्याइएका निर्देशनहरू उल्लंघन गरेको, कैफियतहरू सुधार नगरेको र कर्जासमेत दुरुपयोग गरेको भन्दै तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतलाई ५/५ लाख रुपैयाँ जरीवाना गरेको थियो । राष्ट्र बैंकले औंल्याएका कैफियत र निर्देशनअनुसार सुधार गर्नुको साटो बैंकले वित्तीय अवस्था राम्रो रहेको देखाउने गरी विवरण प्रकाशित गरेपछि व्यवस्थापन हातमा लिनुपर्ने अवस्था आएको राष्ट्र बैंक स्रोतले बताएको छ ।