काठमाडौं । मिस युनिभर्स नेपाल २०२५ को लागि आवेदन औपचारिक रूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यो घोषणा गरिएको हो । यो वर्ष प्रतियोगिता आठ भागमा आधारित ‘रियालिटी टिभी शो’को रूपमा प्रस्तुत गरिने बताइएको छ ।
मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले प्रतियोगिता नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन् । प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्य हो ।’ आवेदन दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहने बताइएको छ । इच्छुकले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया प्लेटफर्ममार्फत आवेदन दर्ता गर्न सक्नेछन् । सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।
प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले जानकारी दिएको छ । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिला पनि प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।