सरकारले भारत र बङ्गलादेशले उपलब्ध गराएका विभिन्न पाँचओटा बन्दरगाह प्रयोगको सम्भाव्यता अध्ययन थालेको छ । ती देशसँग भएका पारवहन सन्धिअनुसार नेपाललाई प्रयोगका लागि उपलब्ध गराइएका बन्दरगाहको प्रयोगसम्बन्धी विस्तृत अध्ययन गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा एक टोली मङ्गलवार भारत गएको हो । बङ्गलादेशसँग वाणिज्य सहसचिवस्तरीय बैठक सकिएको भोलिपल्टै सो टोली अध्ययनका लागि भारत लागेको हो । फ्रेट फरवार्डर्स एशोसिएशन अफ नेपाल (नेफा), नेपाल मल्टिमोडल ट्रान्सपोर्ट विकास समिति तथा भन्सार विभागसहितका प्रतिनिधिको अध्ययन टोलीले करीब १५ दिनको अवधिमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामेश्वर पोखरेलले अभियानलाई बताए । ‘अध्ययन टोलीले कोलकाता, नयाँ दिल्ली, मोङ्ग्ला, राधिकापुर र पारादीप बन्दरगाह प्रयोगको सम्भाव्यता अध्ययन गर्नेछ,’ उनले भने, ‘सो टोलीको अध्ययनबाट प्रस्तुत प्रतिवेदनका आधारमा बन्दरगाह प्रयोगबारे निर्णय लिइनेछ ।’
वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९