कात्तिक २४, म्याग्दी (अस) । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सुनिश्चित हुनेगरी तयार गरिएको कम्पनी लिमिटेडको मोडेललाई अन्तिम रूप दिन विद्युत् प्राधिकरण जुटेको छ ।
राष्ट्रिय महत्वको उक्त आयोजना भारतीय ठेकेदार कम्पनी आईभीआरसीएलसँगको विवादका कारण २ वर्षदेखि अलपत्र परेको थियो । आयोजनाले सिभिल ठेकेदारसँगको सम्झौता तोडी स्थानीयसँग सहकार्य गर्नेगरी कम्पनी मोडेलबाटै पुनर्निर्माणकार्य अगाडि बढाउने जानकारी दिएको छ ।
भारतीय एक्जिम बैङ्कको ४ करोड डलर सहुलियत ऋण लिएर कम्पनी मोडेलमार्फत बनेको संरचनाका आधारमा काम अगाडि बढाउने निमित्त आयोजना प्रमुख रमेश श्रेष्ठले बताए । निर्माणकार्य अवरुद्ध गरेर बजेट माग गर्ने, अदालतमा मुद्दा हाल्ने, अनावश्यक दबाव दिनेलगायत कारणले आयोजनाले अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै प्राधिकरण नयाँ प्रक्रियाबाट अगाडि बढेको श्रेष्ठको भनाइ छ । चिलिमे र तामाकोशी जलविद्युत्सरह प्राधिकरणको सहायक कम्पनी मोडेलमा लैजाने कार्यमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको सक्रियता रहेको छ ।
भारतीय कम्पनीसँगको सम्झौता खारेजपछि नयाँ प्रक्रियामा सिभिल कामका लागि नेपालमा अनुभव भएका ७ ओटा कम्पनीले टेण्डर हालेका थिए । वि.सं. २०६६ सालबाट निर्माणकार्य सुरु भएको आयोजनाको भारतीय सिभिल ठेकेदार कम्पनी आईभीआरसीएलले २ अर्ब ७८ करोड ७६ लाख रुपैयाँमा सिभिलअन्तर्गत पर्ने सडक, सुरूङ, विद्युत्गृह र बाँध निर्माणको सम्झौता गरे पनि तीव्र गतिमा काम हुन सकेको थिएन ।
कम्पनी मोडेलमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० प्रतिशतदेखि माथि प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णयअनुसार लगानीको प्रतिशत तोक्ने व्यवस्था गरिएको छ । आयोजनाको भौतिक प्रगति ९ र वित्तीय १६ प्रतिशतमात्रै काम सकिएको छ । ‘रन अफ दि रिभर’ प्रकारको आयोजनालाई भारतीय सरकारको सहयोगमा सहुलियत ऋण उपलब्ध हुनेछ । झिँ र दग्नाम गाविसको निमाना बुक्लमा बाँध रहने आयोजनाको ६.१ किमी लामो सुरूङ रहनेछ । आयोजनाको क्षमतालाई ३२ बाट ४० मेगावाट बनाइएको छ ।