भन्सार विभागले नेपाली भन्सारलाई दक्षिण एशियाली मापदण्डमा पुर्याउन पुन: चारवर्षे भन्सार रणनीतिक योजना ल्याउने तयारी गरिरहेको समाचार प्रकाशमा आएको छ । यसअघि भन्सार सुधारका निम्ति २०६० र २०६३ सालमा ३/३ वर्षीय यस्तै योजना लागू भएको थियो । भन्सार सुधार कार्ययोजनाका नाममा सञ्चालित विगतका दुई योजनाबाट नेपाली भन्सारको के–कति सुधार भयो, त्यसको अधिकारिक जानकारी भने सरोकारवाला सबैलाई छैन ।
विगतमा सञ्चालित भन्सार सुधार कार्ययोजनाबाट भएका सुधार र आयातनिर्यातमा गरिएको सरलीकरणलाई आम जनमानससम्म पुर्याइएन नै, विश्व बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)लाई समेत समयमै आधिकारिक जानकारी नगराएको निजीक्षेत्रको गुनासो छ । विश्व बैङ्कको तथ्यांकमा नेपालका भन्सार प्रणालीमा पुरानै प्रक्रिया र ‘डकुमेण्ट’ रहिरहनुले पनि निजीक्षेत्रको गुनासोलाई गम्भीर रूपले लिनुपर्ने हुन्छ । तर, विश्व बैङ्कले सन् २०११ सम्मको विश्वका १ सय ४७ मुलुकको भन्सार सुधार गतिलाई मापन गरेर निकालेको सूचकाङ्कले नेपालको सुधार क्रम ३ दशमलव ४ नम्बरमा रहेको देखाएको छ ।
(सम्पादकीयबाट)वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९