काठमाडौं । धितोपत्र कारोबारमा लगाइएको लक–इनको अवधि पूरा गरी वैशाखमा मात्र १ करोड ४ लाख ८६ हजार २२६ कित्ता शेयर कारोबारयोग्य हुने भएको छ ।
चार जलविद्युत् कम्पनीको उक्त परिमाण बराबर कित्ता शेयरको लक–इन अवधि वैशाखमा समाप्त भई सर्वसाधारणसरह कारोबारमा आउन लागेको हो । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सामूहिक लगानी कोषतर्फको ७५ हजार कित्ता, रुरू जलविद्युत् परियोजनाको संस्थापकतर्फको ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीतर्फको ९ हजार ८५८ कित्ता गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक–इन वैशाखमै समाप्त हुने लागेको हो ।
माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरको ६ महीना लक–इन अवधि वैशाख २ गते समाप्त भएको छ । वैशाख ३ गतेदेखि माथिल्लो मैलुङ खोलाको यी शेयर कारोबारमा आउनेछ । त्यस्तै रुरू जलविद्युत् परियोजनाको शेयरको लक–इन भने वैशाख ३ गतेपछि सकिनेछ । तीन वर्षको लक–इन अवधि पूरा भई रुरू जलविद्युत्को शेयर वैशाख ४ गतेदेखि कारोबारयोग्य हुन लागेका हुन् ।
त्यस्तै चिरख्वा हाइड्रोपावरको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ४० हजार कित्ता र सिइडिबि हाइड्रोपावरको संस्थापकतर्फको ५८ लाख ७५ हजार ८७० कित्तासँगै कर्मचारीतर्फको ५० हजार ३६५ कित्ता शेयरको लक–इन अवधि पनि वैशाखमै सकिनेछ । चिरख्वा हाइड्रोपावरको शेयरको लक–इन वैशाख १५ गतेसम्म र सिइडिबि हाइड्रोपावरको वैशाख ३० गतेसम्म रहेको कम्पनीहरूले सूचनामार्फत जानकारी गराएका छन् । यस आधारमा चिरख्वाको शेयर वैशाख १६ र सिइडिबिको शेयर वैशाख ३१ गतेदेखि कारोबारयोग्य हुनेछ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा विवरणपत्र प्रकाशित गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाहरूले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेर बाँडफाँट भएको तीन वर्ष पूरा नभई विक्री गर्न नपाइने व्यवस्था छ । तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फन्ड वा यस्तै प्रकारको कोषका रूपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको वा नेपालमा लगानी गर्न प्रचलित कानूनबमोजिम स्वीकृति प्राप्त विदेशी सरकारको लगानी रहेको संस्थाको स्वामित्वमा रहेका धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँट भएको मितिले १ वर्ष पूरा भएपछि विक्री गर्न सकिने व्यवस्था छ ।
यी व्यवस्था यथावत् रहँदा पछिल्लो समय नेपाल धितोपत्र बोर्डले कात्तिक २१ गतेदेखि लागू हुने गरी सामूहिक लगानी कोषको स्वामित्वमा रहने ५ प्रतिशत आरक्षित शेयरसमेत सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महीना लक–इनमा रहने व्यवस्था गरेको हो । धितोपत्र बजारमा सामूहिक लगानी कोषको स्वामित्वको शेयरले समेत अस्वाभाविक रूपमा विक्री चाप बढाएको गुनासो आएसँगै बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले उक्त व्यवस्था लागू गरेका हुन् । साथै त्यस्ता शेयरको लक–इन अवधि खुला हुनुभन्दा १ महीना अगावै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने निर्देशन हमालकै कार्यकालमा मङ्सिर २५ गते जारी गरिएको थियो । सर्वसाधारण लगानीकर्तालाई जानकारी गराई धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित बनाउन बोर्डले धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र सम्पूर्ण सूचीकृत कम्पनीलाई निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम पछिल्लो समय कम्पनीहरूले लइ–कन अवधि समाप्त हुनुभन्दा १ महीनाअगाडि सूचनामार्फत जानकारी गराउन थालेका हुन् ।
लक–इन अवधि समाप्तिपछि सर्वसाधारण शेयरसरह कारोबार गर्न मिल्ने भएकाले यी शेयरले बजारमा आपूर्ति बढाई मूल्यमा नकारात्मक असर पार्ने सम्भावना रहन्छ । यसर्थ पनि एकैपटक शेयरको आपूर्ति नबढोस् भनेर लक–इनको व्यवस्था गरिएको हो ।
लक–इन अवधि समाप्त भएको जानकारी सार्वजनिक सूचनामार्फत गराएसँगै सर्वसाधारण लगानीकर्तालाई फाइदा पुगेको भनाइ अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरेको छ । उनका अनुसार यसअघि संस्थापक, कर्मचारी, आयोजना प्रभावित स्थानीयको स्वामित्वमा रहेको शेयरको लक–इन खुला भएको सर्वसाधारण शेयरधनीहरूलाई जानकारी नै हुँदैन थियो । विनाजानकारी शेयरको आपूर्ति बढाई बजारमा चलखेल हुने गरेको थियो ।
बोर्डले सूचना जारी गरेरै जानकारी गराउन भनेसँगै सर्वसाधारण लगानीकर्ताले लक–इनपछि आउने कारोबारलाई सहजै अनुमान लगाउन सक्ने र सोहीअनुसार आफूहरू कारोबारमा सहभागी हुने अवसर मिलेको उनी बताउँछन् । विनाजानकारी सोझासीधा लगानीकर्ता लक–इनपछिको कारोबारमा फस्ने सम्भावना अबका दिनमा कम हुने बुझाइ घिमिरेको छ ।