वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर र आसपासका क्षेत्रमा बढ्दो अघोषित लोडसेडिङ तथा अव्यवस्थित विद्युत आपूर्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले बिहीवार एक विज्ञप्ति जारी गर्दै औद्योगिक क्षेत्रमा दैनिक ८ घण्टासम्म अघोषित लोडसेडिङ हुनुका साथै दिनभर १० देखि १२ पटकसम्म ट्रिपिङ हुने समस्या रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'विसं २०७३ मा घरायसी र २०७५ मा औद्योगिक क्षेत्र लोडसेडिङमुक्त भएको घोषणा भएको केही वर्षमै पुनः लोडसेडिङको अवस्था फर्किनु चिन्ताजनक विषय हो ।'
बारा–पर्सा औद्योगिक कोरिडोरमा सिमेन्ट, फलाम, स्टील, पशुदाना, खाद्यान्न, औषधिलगायतका उद्योग सञ्चालनमा छन् । विद्युत अभावका कारण यी उद्योगहरू आफ्नो पूर्ण क्षमताको मात्र ३०–३५ प्रतिशत उत्पादनमै सीमित हुनु परेको सङ्घको भनाइ छ ।
'विद्युत आपूर्तिको अभावले न केवल उत्पादन घटेको छ, करोडौं मूल्यका उपकरणहरू बिग्रिएका छन् र उत्पादन लागत समेत उच्च बनेको छ । यसले समग्र मुलुकको अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारिरहेको छ,' वरिष्ठ उपाध्यक्ष माधव राजपालले भने।
'नेपाल विद्युत प्राधिकरणले भारत र बंगलादेशमा विद्युत विक्री गरिरहेको समाचार आउने गर्दछ, तर आफ्नै औद्योगिक क्षेत्रहरूमा आपूर्ति गर्न नसक्नु विडम्बनापूर्ण अवस्था हो,' विज्ञप्तिमा भनिएको छ ।
सङ्घले यस्तो लापरवाहीपूर्ण विद्युत व्यवस्थापन कायम रहे उद्योग सञ्चालन नै असम्भव हुने बताउँदै, सरकारलाई साँचो सुम्पनु पर्ने अवस्था आउने चेतावनी दिएको छ।
नेपाल विद्युत प्राधिकरण र सम्बन्धित निकायहरूसँग तत्काल समस्या समाधानको माग गर्दै वैकल्पिक उपायको व्यवस्था मिलाउन सङ्घले आग्रह गरेको छ।