भदौ १५, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को संस्थापक शेयर टीएमएसमार्फत लगानीकर्ता स्वयंले खुला रूपमा कारोबार गर्न सक्ने भएका छन् । दोस्रो बजारमा अनलाइन ट्रेडिङ सिस्टममार्फत साधारण शेयरसरह सहज रूपमा लगानीकर्ताले एचआइडीसीएलको संस्थापक शेयर खरीदबिक्री गर्न सक्ने व्यवस्था गरिएको नेप्सेले जानकारी गराएको छ ।
कम्पनीको संस्थापक र सर्वसाधारण शेयर छुट्टाछुट्टै संकेतमा कारोबार हुने व्यवस्था गरिएको छ ।
लगानीकर्ताले संस्थापक शेयरको कारोबार स्वतन्त्र रूपमा गर्न नसकिएको गुनासो गर्दै आएका थिए ।
कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता संस्थापक शेयर सूचीकृत भएको छ । संस्थापक शेयर ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार हुँदै आएको छ भने सर्वसाधारण समूहको सेयर ‘एचआईडीसीएल’ संकेतमा गर्न सकिनेछ ।