काठमाडौं । मंगलबार (आज) शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमवारको तुलनामा आज नेप्से परिसूचक ३.९० अंक घटेको हो । यससँगै नेप्से २ हजार ६५४ अंकमा कायम भएको छ ।
आज कारोबार रकममा भने उल्लेख्य कमी आएको छ । सोमवार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा सीमित भएको छ ।
आज कुल ९९ धितोपत्रको मूल्य बढेको छ भने १४८ ओटाको घटेको छ । यस दिन लघुवित्त समूहमा आकर्षण देखिएको छ । उक्त समूहको सूचक १.१० प्रतिशत बढेको छ । त्यस्तै जलविद्युत र व्यापारिक समूहका सूचक पनि बढेका छन् । जलविद्युत् समूहको सूचक ०.२७ प्रतिशत र व्यापारिक समूहको सूचक ०.११ प्रतिशत बढेका छन् ।
यीबाहेक बाँकी समूहका सूचक घटेका छन् । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी १.५८ प्रतिशत घटेको छ ।
आज पियोर इनर्जी लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, बुटवल पावरको शेयर मूल्य ८.२५ प्रतिशत बढेको छ ।
त्यसैगरी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य सर्वाधिक ५.९० प्रतिशतले घटेको छ ।
नेप्सेको कारोबारका आधारमा मंगलवार लामो पुच्छर र टुप्पी भएको रातो सानो शरीरको मैनबत्ती आकृति बनेको छ । यसले कारोबार अवधिमा मूल्यमा उतारचढाव आएको र कारोबारको अन्त्यमा विक्री दबाब परेको जनाउँछ । साथै, बजारप्रति लगानीकर्ताको अनिश्चितता रहेको संकेत गर्छ ।