काठमाडौं । मोदी इनर्जी लिमिटेडले असार १९ गते विशेष साधारण सभा बोलाएको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । उक्त हकप्रद शेयर जारीपश्चात् पूँजीको उपयोगका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।
कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
एक जना संस्थापक समूहबाट रिक्त सञ्चालक नियुक्ति अनुमोदन पनि सभाले गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि असार १२ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।