काठमाडौं । लगानीकर्ताहरूले क्लियरिङ र सेटलमेन्ट प्रक्रियाको समयसीमा छोट्याउन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकसमक्ष माग गरेका छन् । सोमवार विभिन्न तीन लगानीकर्ता संघका पदाधिकारीहरूले सिडिएससीका सीईओ पन्दाकलाई भेटेर उक्त माग गरेका हुन् । शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका शीर्ष पदाधिकारीहरूले सीईओ पन्दाकलाई विशेष गरी चारबुँदे माग समेटिएको एक पत्र पेश गरेका छन् ।
नवनियुक्त सीईओ पन्दाकलाई कार्यकाल सफलताको शुभकामना दिन पुगेका लगानीकर्ता संघका पदाधिकारीहरूले सिडिएससीको भावी योजना र कार्यान्वयनमा लगानीकर्ता मैत्री नीतिहरु, प्रविधिको पहुँच विस्तार, शिक्षा तथा सचेतना अभियान तथा ग्राहक सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण जस्ता विषय प्राथमिकतामा पर्नेमा लगानीकर्ता आशावादी रहेको धारणा राखेका थिए ।
लगानीकर्ताले विशेष गरी मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दूरदराजका लगानीकर्ताहरूलाई सेवा पुर्याउने, आईपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेक्स वा पोर्टल निर्माण गर्ने लगायत कार्य गर्न सिडिएससीसमक्ष माग गरेका छन् ।
नेपालको पूँजी बजार प्रणालीलाई सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा सिडिएससीको महत्त्वपूर्ण योगदानलाई समेत लगानीकर्ता संघका पदाधिकारीहरूले उल्लेख गरेका छन् । यतिबेला पूँजीबजारका सम्बद्ध संस्थाहरूमा नेतृत्व नयाँ रहेको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सीईओ र सिडिएससीमा समेत नयाँ सीईओ नियुक्त भएका हुन् । यो अवस्थामा लगानीकर्ता संघका प्रदाधिकारीहरूले सबै निकायका प्रमुखहरूलाई भेटी पूँजीबजारका लागि आवश्यक व्यवस्था गर्न माग गरेका हुन् । यसअघि यी लगानीकर्ता संघका पदाधिकारीहरूले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र नेप्सेका सीईओ चुडामणि चापागाईलाई समेत भेटेर आफ्ना माग राखिसकेका छन् ।