काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशलगायत प्रस्ताव पारित गर्न २२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते मकवानपुरको हेटौडास्थित होटल सामना प्रा.लि.को सभाहलमा साधारण सभा गर्न लागेको हो । सो सभा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।