काठमाडौं । ट्रेड टावर लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
जेठ २० गतेदेखि लागू हुने गरी क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी कम्पनीले दिएको हो । क्यापिटलले कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको थियो । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै आगामी दिनमा क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनका सम्पूर्ण काम गर्नेछ ।
यस कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि, २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ सर्वसाधारणमा बाँडफाँट गरेको छ ।
कम्पनीमा संस्थापकतर्फ ५१ दशमलव ३०४ प्रतिशत शेयर स्वामित्व छ भने सर्वसाधारणमा ४८ दशमलव ६९६ प्रतिशत शेयर जारी गरिएको छ ।