काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म ६ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यस कम्पनीले यो वर्ष भने खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम घटेपछि कम्पनी खुद नाफा गर्न सफल भएको हो । गत वर्ष १४ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज रकम यस वर्ष भने ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ३६ करोड ३१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
गत वर्षको यस अवधिसम्मको तुलनामा कम्पनीको वितरणयोग्य नाफाको ऋणात्मक रकम घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १५ करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक थियो ।
हाल कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा ४ लाख ४२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम भने ४१ करोड ६७ लाख रुपैयाँभन्दा बढी छ ।
तेस्रो त्रैमाससम्म ७ अर्ब २३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले आफ्ना सदस्यहरूमा ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरूमा १७ करोड १६ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ९ दशमलव ५७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १२ दशमलव शून्य १ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०५ रुपैयाँ ७० पैसा छ ।